मुर्झाएको घरजग्गाको भाउ फेरि बढ्न थाल्यो

मुर्झाएको घरजग्गाको भाउ फेरि बढ्न थाल्यो

 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जग्गामा हुने कर्जालाई नियन्त्रण गर्न कठोर नीति लिएपछि जग्गाको भाउ बढ्ने क्रम रोकिएको थियो । तर, अहिले फेरि जग्गाको भाउ बढ्न थालेको छ । खासगरी वर्षामा घरजग्गाको भाउ घट्ने र हिउँद लागेपछि बढ्ने गर्छ । आज १० लाख रुपैयाँ आना भनेको जग्गा एक सातापछि जाँदा १० लाख ५० हजार रुपैयाँ भन्ने गरेका छन् ।

काठमाडौं उपत्यकामा मात्र होइन, जिल्लाका मुख्य शहरी इलाकामा घरजग्गाको मूल्य बढिरहेको छ । बैंकले भन्दा पनि सहकारीले बढी लगानी गरेका कारण घरजग्गाको भाउ बढेको बिज्ञहरुको भनाइ छ ।  सहकारीमा वैधानिक तथा अवैधानिक रुपमा रकम रहने गरेको र त्यही रकम जग्गामा लगानी हुने गरेका कारण जग्गाको भाउ अचाक्ली बढेको उनीहरुको भनाइ छ ।

रेमिट्यान्सले गर्दा पनि घरजग्गाको मूल्य आकाशिएको अर्काथरिको तर्क छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि भदौसम्ममा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिएको छ । समग्रमा हेर्ने हो भने पछिल्लो समय प्रत्येक घरबाट एक जना विदेशमा गएको देखिन्छ । विदेशमा बसेर कमाएको पैसा नेपाल ल्याएर घरजग्गामै लगानी गर्छन् । उद्योग व्यवसाय गर्नु भन्दा घरजग्गामै लगानी गर्दा फाइदा हुने गरेकाले घरजग्गामै लगानी गर्ने तर्क उनीहरुको छ । तर, विदेशमा गएकाले ल्याएको पैसाले मात्र यति विघ्न घरजग्गाको भाउ नबढेको तर्क एकथरीले गर्दै आएका छन् । घरजग्गाको भाउ बढनुको भित्री रहस्य बैंक तथा वित्तीय संस्थाले अनियन्त्रित रुपमा घरजग्गा लगानी गरेकै कारणले नै हो ।

बैंक तथा वित्तीय संस्था, सहकारी, रेमिट्यान्सलगायतबाट आउने धेरैजसो रकम घर बनाउन र जग्गा किन्नमै खर्च हुने गरेको छ । यसले गर्दा जग्गाको भाउ फेरि आकासिन थालेको छ । बिज्ञहरु भन्छन्–‘नेपालमा रहेको सानो घरजग्गाको टुक्रा बिक्री गरेर अमेरिकमा सुविधा सम्पन्न ठाउँमा घर किन्न सकिने अवस्था छ ।’ अमेरिकामा भन्दा नेपालमा जग्गाको भाउ महंगो भएको उनीहरुको भनाइको आशय हो । बैंक तथा वित्तीय संस्था, सहकारी, शेयर बिक्री र रेमिट्यान्सलगायतको लगानी बढाउँदा घरजग्गाको भाउ अकासिन थालेको हो ।

पहिलोपटक आवास तथा अपार्टमेन्ट किन्दा बैंक तथा वित्तीय संस्थाले प्रतिग्राहक १ करोड ५० लाखसम्म कर्जा लगानी गरेका छन् । पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी हुन थालेको संकेत दिएको छ । तर, पनि बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन छोडेका छैनन् । बैंक तथा वित्तीय संस्थाले बढी ऋण प्रवाह गरेकै कारण घरजग्गाको भाउ बढेको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए । उनले भने अन्य ठाउँमा लगानी गर्नुभन्दा बढी सुरक्षित हुने ठाउँ नै घरजग्गा भएकाले बैंक तथा वित्तीय संस्थाले पनि त्यही क्षेत्रमा लगानी गर्न पुगेका हुन् ।

बैंकहरुले घरजग्गामा लगानी बढाएका कारण लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको छ । लगानीको वातावरणमा सुधार आएपछि उनीहरुले बढी ऋण प्रवाह गर्न थालेका हुन् । बैंकहरुले घरजग्गामा बढी लगानी गर्न थालेपछि राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्ने गरी मौद्रिक नीति ल्याएको थियो । उसले शेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याएको थियो । तर, त्यस्तो नीतिलाई पर्वाह नगरी बैंकहरुले घरजग्गामा लगानी बढाएका छन् ।

नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको थियो । राष्ट्र बैंकले एक करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेटमा भने काठमाडौैं उपत्याकाभित्र धितो मूल्यांकनको ५० प्रतिशतसम्म र उपत्यका बाहिर ६० प्रतिशतसमम कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसअघि आवासीय रियलस्टेट कर्जामा धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाइने नीति थियो ।

बैंक तथा वित्तीय संस्थाले आवासीय रियलस्टेट कर्जा अधिकतम् एक करोड ५० लाख रुपैयाँसम्म दिन पाउँछन् । पहिलो पटक घर तथा अपार्टमेन्ट किन्ने बैंक तथा वित्तीय संस्थाले कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउँछन् । रियलस्टेटमा मात्र कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ । तर, पनि बैंकहरुले आन्तरिक रुपमा मिलाएर घरजग्गामा लगानी बढाइरहेका छन् ।